बाथ रोग भन्नाले के हो त ?
बाथ रोग भन्नाले के हो त ?

बाथ रोग भन्नाले के हो त ?

बाथ रोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । त्यसैले यसलाई अटो इम्युन डिजिज भनिन्छ । बाथरोगलाई सामान्यतया गम्भीर रोग मानिन्छ, किनभने यो रोगले मानिसलाई निरन्तर सताउँछ र दीर्घरोगको रुपमा रहिरहन्छ । तर यसको समयमै पहिचान गरी उपचार गर्न सकियो भने शरीरको हड्डी र जोर्नीहरु बचाउन सकिन्छ ।

नेपालमा अहिले यो रोगीको संख्यामा ह्वात्तै बढेको छ । यो रोग विशेषगरी पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ । प्रत्येक तीनजनामा २ जना महिलालाई बाथ रोग देखिने भएकाले यो रोग महिलालाई मात्र हुने होकी भन्ने भ्रम पनि छ । तर, यो रोग बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई लाग्छ ।

बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनुे, बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठ हुने र करकर खाने हो । यि प्रारम्भिक लक्षणहरु हुन् । बाथरोग एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टीबडी देखिन्छ, त्यसको आधारमा मात्र रोग र लक्षणको बर्गीकरण गर्न सकिन्छ ।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथर्राइटिस हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिएपनि बालकदेखि वृद्ध, महिला एवं पुरुषलाई पनि यो रोग हुन्छ ।

नेपालमा प्रायः मानिसलाई देखिएका बाथरोग यस प्रकारका छन् :

१. गठिया बाथ अर्थात प्यालोटोइड आर्थराइटिस सयभन्दा बढी प्रकारका बाथ रोग मध्ये नेपालमा धेरै देखिने गठिया बाथ अर्थात प्यालोटोइड आथ्र्रराइटिस हो । गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर पुर्याउँछ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गरेको देखिएपनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसको जोखिम रहन्छ ।

२.र्यूमाटाइड आर्थराइटिस बयस्क र बढ्दो उमेरमा देखिने र्यूमाटाइड आर्थराइटिस लामो समयसम्म रहिरहने भएकोले यसलाई कडा बाथरोगका रुपमा लिइन्छ । शुरुको अवस्थामा हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने र अरठ्ठो भएपनि समयमै उपचार गर्न सकिएन र रोग छिप्पिँदै गएपछि सबै जोर्नीहरु जाम हुने, बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवस्थामा पुग्छन् । र शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा हानी पुर्याएर बिरामीको मृत्यु हुने गर्छ ।

३. स्पोण्डिलो आर्थराइटिस (ढाडको वाथ) ढाडको जोर्नीहरुमा सुजन भएर हुने यस्तो बाथले दीर्घरोगको रुपमा रहन्छ । यसले फिलाभित्रको जोर्नीलाई पनि आक्रमण गर्छ । विशेषगरी यसले पुरुषलाई बढि मात्रामा असर गर्छ । यसलाई वंशाणुगत बाथ रोगको रुपमा पनि लिइन्छ ।

४. लुपस बाथ यो रोगले बिशेषगरी जवान महिला र पुरुषलाई बढि सताउने गर्दछ । लामो समयसम्म रहिरहने भएकोले यो दीर्घरोगको रुपमा रहन्छ । अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने र बाँकी प्रारम्भिक लक्षणहरु देखा पर्दछन् । समयमै उपचार भएन भने शरीरका भित्री अंगहरु किड्नी, फोक्सो, मुटु लगायत अंगमा असर पुगेर बिरामीको मृत्युसम्म हुने गर्दछ ।

५. स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ) वयस्क र बढ्दो उमेरका महिलाहरुमा बढि देखिने छाला बाक्लो हुने बाथले हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने र चिसो पानिमा हातगोडा भिजाउँदा क्रमशः सेतो, निलो र रातो हुने गर्दछ । यदि समयमै उपचार गर्न सकिएन भने रगतका नशाहरु, फोक्सो र मिर्गौलामा असर गरी हातका औंलाहरुमा घाउ आउने, छाती पोल्ने, दम बढ्ने समस्या देखिने गर्दछ ।

६. ओस्टियो आथ्र्रराइटिस ( जोर्नी खिइने बाथ) बढ्दो उमेरका मोटो मानिसहरुमा देखिने जोर्नी खिइने बाथले जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुन्छ । यस किसिमको बाथले मूख्यत घँुडा, गर्दन, कम्मरको मेरुदण्ड, हातका औंलाहरु र नितम्बका् जोर्नीमा बढि असर गर्दछ । बढेदो उमेर, मोटोपन, भिटामीन डी, क्याल्सियमको कमी, थाइराइड आदिका कारण जोर्नी खिइने बाथ हुने गर्दछ ।

७. गाउट (यूरिक एसिडको बाथ) रगतमा यूरिक एसिडको मात्रा बढेपछि गोडाको बुढि औंला वरपर र पछि जोर्नीमा जम्न जान्छ र एक्कासी जोर्नीहरु दुख्ने, सुन्निने र रातो हुंदै जानुलाई यूरिक एसिडको बाथ भनिन्छ । तर यूरिक एसिड हुंदैमा सबैलाई बाथ हुंदैन । यदि समयमै उपचार गनै सकिएन भने जोर्नी बाङ्गिने, बिग्रिने र कामै नलाग्ने अवश्थामा पुग्छन् । यूरिक एसिडका डल्लाहरु ठाँउ ठाँउमा जम्ने र मिर्गौलामा पत्थरी भई फेलसमेत हुन्छ ।

८. जुभेनाइल आथ्र्रराइटिस ( बालबालिकामा हुने बाथ) बालबालिकामा हुने बाथ बिशेषगरी २ किसिमका हुन्छन । एउटा मुटुमा हुने ज्वरो (र्यूमटिक फिभर) र अर्को जुभेनाइल आथ्र्रराइटिस । यी दुबै रोगलाई समयमै उपचार गर्न सकिएन भने हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने, हिंडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा बिभिन्न दागहरु आउने र आँखामा असर देखिन्छ । समग्रमा देखिने लक्षणहरू हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् । यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ । साथै, जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन् । बाथ रोगका लाग्नुका कारण बाथरोग एक सय भन्दा बढि प्रकारका हुने भएकोले शरीरमा कुन प्रकारको एण्टिबडि रगतमा देखिन्छ, त्यसको आधारमा मात्र कारण देखिन्छ । यो वंशाणुगत पनि हुन्छ ।

साथै, वातावरण प्रदूषण, चुरोटको धूवाँले हर्मोनको गडबडी आदी कारणले यस्तो बाथलाई बढाउने देखिन्छ । कसरी थाहा पाउने बाथ रोग ? बिरामीले देखाउने प्रारम्भिक लक्षण र जोर्नीहरूको जाँच गनेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न रगतको परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन । तर, यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन । तसर्थ वाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्ष्भित्र गरी सक्नुपर्छ ।

उपचार विधि यस्तो छ  ?

नेपालमा ६ बर्ष अघिसम्म यसको उपचार सम्भव थिएन । सबै बाथरोगीका बिरामी भारत जानुपर्ने बाध्यता थियो भने २ बर्ष अघिसम्म उपचार सम्भव भएपनि रगत परिक्षण र औषधीका लागी भारतनै जानुपर्ने अवस्था थियो । तर अहिले नेपालमै सबै उपचार सम्भव छ त्यो पनि खर्चका हिसाबले भारतमा भन्दा नेपालमा सस्तो छ । उपचारको क्रममा सुरुमा केहि महंगो भएपनि पछि नियमित औषधी सेवनका लागी अन्य रोग उपचारको तुलनामा महंगो छैन । औषधिः बाथको औषधि क्यान्सरको औषधिबाट शुरु भएको हो ।

यो रोग दीर्घरोग भएकाले आजिवान औषधि सेवन गरीरहनु पर्ने हुन्छ । बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको पहिचान पहिले नै गर्न सकिन्छ । जोर्नीमा बिगार सुरु भएपछि उपचार कठिन हुन सक्छ ।

बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छः

(क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ । उपचारको सुरुवातमा यस्ता औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । तर केवल नदुख्ने औषधी अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्नसक्छ । यस्ता औषधी सँधै सकेसम्म कम मात्रामा तथा सँधै वाथ रोक्ने औषधिसँग मिलाएर मात्र प्रयोग गर्नुपर्छ । प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक औषधी स्टेरोइड औषधिहरू हुन् ।

(ख) बाथ रोक्ने औषधिः यसप्रकारका औषधिले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ । यी औषधिहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ । यी औषधिहरू कडाहुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ । मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन् । नयाँ एकदम असरदार तर एकदम महँगो औषधि (जस्तैः रिडक्सिभ्याव) नेपालमा पनि पाउन थालेको छ । प्राय कडा खालको औषधि लुपस बाथको लागि प्रयोग गरीन्छ ।

व्यायामः सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ । शल्यक्रियाः बाथ रोग बिग्रिसकेर जोर्नी बांगिसकेको भने औषधिले पनि ठीक हुँदैनन् । यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गर्नुपर्ने हुन्छ । यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन् । खानपान प्रायजसो बाथ रोगमा खानपिन बार्नु पर्दैन । तर यूरिक एसिड बाथमा भने खाना बार्नुपर्ने हुन्छ । अन्त्यमा बाथरोगीलाई उपचारको क्रममा औषधि संगसंगै परामर्श पनि उत्तिकै आवश्यक पर्छ । प्रायजसो बिचैमा रोग ठिक भएको ठानेर औषधी खान छोड्छन । यस्तो बिरामीलाई आबश्यक सल्लाह दिएर चिकित्सककोमा पठाउनु पर्ने हुन्छ ।

नेपालमा बाथरोगका विशेषज्ञ डाक्टर निकै कम भएकोले सबैले उपचारमा सहज पहुंच पाएका छैनन् । नेपालमा करीब ३६लाखको हाराहारीमा बाथ रोगी देखिएका छन् । ती मध्ये करीब १० प्रतिशत रोगीमात्रै उपचारको पहुँचमा रहेकाले समयमै सबैमा सचेतना विस्तार हुनपर्ने देखिन्छ । सरकारले पनि बाथ रोगलाई अन्य रोग जस्तै मुटु रोग, मिर्गौला सम्बन्धि रोग, टिबि, एड्सको ठांउमा राखेर नीति नियम बनाएको छैन ।
नेपालमा बाथ रोग दिन प्रतिदिन बढ्दै गएकोले अन्य दीर्घरोगमा जस्तै उपचारमा सबैको पहुँच पुग्न आवश्यक छ ।

डा. निलम पोखरेल, जनरल फिजिसियन
ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0