गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति
गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति

गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति

अहिले फेरि गोरखाल्याण्डको माग चरम रूपले ब्युँतिएको छ । नेपाली भाषी दार्जिलिङ्गेहरू फेरि संगठित रूपमा यस मुद्दालाई पुनर्जीवित गर्दै सडकमा उत्रिएका छन् । कारण थियो, नेपाली भाषीहरूको बाहुल्य रहेको सो क्षेत्रको पाठ्यक्रमहरू सबै बंगाली भाषामा पढाइ गर्नुपर्ने पश्चिम बंगाल सरकारको उदघोष ।

सरकारको दमनका विरूद्ध रणसंग्राममा उत्रेका केहीको ज्यान समेत गैसकेको छ। पछिल्लो अवस्था हेर्दा आन्दोलन अझै चर्किने र गोरखा मुक्तिमोर्चा लगायत अन्य सहयोगी दलहरूले अबको लडाई अन्तिम र निर्णायक हुने बताईरहँदा विश्वभरि छरिएर रहेका नेपालीभाषीहरू वीच भने भारतीय नेपालीभाषीले गोरखा शब्द प्रयोग गरेको भन्दै विभिन्न अनलाइन छापामा दुखेसो पोखेका छन्, आपत्ती जनाएका छन् र गोरखा शब्द प्रयोग गर्ने अधिकार भारतीय नेपालीभाषीमा नभएको भन्दै एक अर्कावीच वाकयुद्ध शुरू गरेका छन् ।

यसले अहिले हामी नेपाली नेपालीवीच विभिन्न प्रश्नहरू उब्जाएका छन् । के गोरखा शब्द नेपालको भौगोलिक सीमानाभित्र रहेका नेपालीहरूको मात्र जन्मसिद्ध अधिकार हो ? के गोर्खाली शब्द गण्डकी अञ्चलको गोरखा जिल्ला भित्र बसोबास गर्ने नेपालीहरूको मात्र पेवा हो ? के गोर्खाली शब्द विश्वभरि क्रियाशील भारतीय, ब्रिटिश, मलेशियन, मकाउ वा सिङ्गापुरे गोर्खा सैनिकको मात्र हो? के गोरखा शब्द नेपाली भाषा बोल्ने नेपालीहरूको मात्र जन्मसिद्ध अधिकार हो ? वा के नेपालीभाषी भारतीयहरूले आफूलाई गोरखा भन्न् नपाउने ? यावत प्रश्नहरूको चिरफार गर्न इतिहासतर्फ नफर्की हामीलाई सुखै छैन ।

सामाजिक सञ्जाल फेसबुकले जसरी अहिले विश्व व्यापकता पाएको छ, विश्वभरि चर्चित छ, यस्तो होला भनेर पहिले सायदै कसैले सोचेका थिएनन् होला, अहिले विश्वको चर्चित ब्राण्डको रूपमा हाम्रो सामू खडा भएको छ ।

त्यस्तै, गोरखा राज्य र ईष्ट ईण्डिया कम्पनी बिच सन् १८१४ देखि १८१६ सम्म चलेको एंङ्गलो नेपलिज युद्धमा नेपाली सेनाले अदम्य साहसका साथ बहादुरी नदेखाएको भए गोरखा नामको अन्तर्ष्ट्रिय ब्राण्ड सायदै यसरी विश्वप्रख्यात हुने थिएन होला, विश्वले चिन्ने थिएनन् होला । अहिले हामी नेपालीहरूको यसै ब्राण्डलाई भारतीय नेपालीभाषीले प्रयोग गर्न नहुने भनेर भनिरहेका छौं । भारतीय नेपालीहरूले राखेको गोरखाल्याण्डको नाम परिवर्तन हुनुपर्ने जनाइरहेका छन् र उनीहरूको गोरखाल्याण्डको मुद्दामा ऐक्यवद्धता जनाउन हिच्किचाइरहेका छन् ।

गोरखा शब्दावली  नामाकरणः

सो क्षेत्रको नाम गोरखा कसरी रहन गयो र गोरखा शब्दको उत्पत्ति कहाँबाट भयो भन्ने बारे धेरै इतिहासविदहरूको भनाइ मिल्छ । गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट गोरखा रहन गएको मानिन्छ । गोरखनाथलाई गोरक्षनाथ पनि भनिन्छ जसको अर्थ गोरक्ष वा गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ ।

अर्को थरिको भनाइ अनुसार नेपाली भाषामा घाँसको फाँटलाई खर्क भनिन्छ र खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको पनि भन्ने गरिन्छ । यो जिल्लाभित्र घाँसका ठूला ठूला फाँटहरु/खर्कहरु भएका प्रशस्त भूभागहरू छन् । मल्लकाल तथा लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।

यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकाले सोही ठाउँका आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।

गोरखा वशांवलीका अनुसार राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथ नेपाल आउँदा उनको अनादर गरेको भनी रिसाएर काठमाडौंवाट गोरखनाथ यो पश्चिमी पहाडी भागमा आई तपस्यारत रहनुभयो । यसै स्थानमा उनको पवित्रताको प्रभावले गोरखा नाम रहन गयो भनेर भनिन्छ ।

किवंदन्ती अनुसार, एकपल्ट काठमाडौं उपत्यकामा ठूलो खडेरी पर्‍यो। पानीको हाहाकार भयो, खेतहरू सुक्न थाले । अन्नबालीहरू नहुने भएपछि आसामको कामाक्ष भन्ने ठाउँमा रहेको एकदम चर्चित महायोगी गोरखनाथलाई उपत्यका भित्र रहेका चारवटै राज्यले संयुक्त रूपमा निम्तो गरेर मत्स्येन्द्रनाथको पूजापाठ र यज्ञका लागि बोलाइयो । गोरखनाथ वास्तवमा नाथ सम्प्रदायको नवौं महागूरू र मत्स्यन्द्रनाथका शिष्य थिए । महायोगी मत्सयेन्द्रनाथको सेतो, रातो पूजाआजा गर्ने चलन, नागपूजा गर्ने चलन आदि उपत्यकामा गोरखनाथको आगमनपछि मात्र चलेको देखिन्छ ।

ललितपुरको बुङमतीमा राक्षसको वास भएको र जसको कारणले पानी नपरेको भन्ने किवंदन्ती पनि रहेको छ । महायोगी गोरखनाथले गरेको मत्स्येन्द्रनाथको विशेषपूजा पश्चात काठमाडौंमा फेरि मुसलधारे बर्षात भएका कारण नेपालवर्षमा गोरखनाथको उपयोगिता धेरै भएको देखिन्छ तत्पश्चात  गूरू गोरखनाथको आगमन विभिन्न कालखण्डमा धेरैपल्ट भएको देखिन्छ ।

वर्तमान गोरखा जिल्ला नेपालको इतिहासमा ऐतिहासिक स्थानको रुपमा रहेको छ । वर्तमान नेपालको भूगोल कायम रहनुका पछाडि गोरखा जिल्लाको महत्वपूर्ण स्थान र भूमिका छ । गोरखाले वर्तमान नेपालको भौगोलिक जग वसाल्नुपूर्वको स्थितिमा अन्यत्र जस्तै गोरखा जिल्लाका विभिन्न इलाकाहरुमा पनि आ–आफ्नै शासकहरु थिए । उनीहरु वीचमा हुने  युद्धले स्थिरता खोजिरहेको थियो ।

यसै समयमा वि स १६१६ सालमा लमजुङे राजा यशोव्रम्हा शाहका कान्छा छोरा द्रव्यशाहवाट स्थापित गोरखा राज्य इतिहासमा विभिन्न प्रकारका चक्कर खादै वर्तमानमा गणतन्त्र नेपालको अवस्थामा आइपुग्न सफल भयो ।

इतिहास फर्केर हेर्दा

द्रव्य शाहले वि स १६१६ देखि १६२७ सम्ममात्र गोरखामा शासन गरे । त्यस पछि उनका शाही उत्तराधिकारीहरुवाट शासन सञ्चालन हुन गयो ।उनका सुयोग्य उत्तराधिकारी रामशाहले १६६३–१६९३ सम्म शासनकालमा गोरखामा रीतिस्थिति वाधिएकाले चर्चित तथा न्यायिक बन्यो ।

यसका आधारमा न्याय नपाए गोरखा जानु भन्ने उक्त्ति प्रचलनमा आयो । उनीपछिका उनका उत्तराधिकारीहरुले सामान्य ढगंवाट राजकाज चलाउँदै परम्परा धान्दै गए । हुने विरुवाको चिल्लोपात भने झैं पृथ्वीरायण शाहको पालामा गोरखा विशाल गोरखाको रुपमा आफना भौगोलिक सीमानाहरु उत्तरी र दक्षिणी वादशाहहरुलाई चकित पार्ने गरी विस्तारित हुँदै गए । उनका उत्तराधिकारीहरुले यो अभियानलाई अझै अगाडि बढ्दै दक्षिणी विशाल फाँटहरुसम्म आफ्नो अधिपत्य कायम गरे ।

 

इतिहासमा नेपालको सीमाना पूर्वमा भूटानको दामसाङ गढी, पश्चिममा भारत र पाकिस्तानको सीमा रहेको राबी नदी, उत्तरमा चीनको कैलाश सरोवर र दक्षिणमा भारतको बनारसस्थित गङ्गा नदीसम्म भएको उल्लेख छ । दुर्भाग्यवश, पछि सुगौली सन्धीले नेपाललाई यो हालको सीमानामा ल्याएर खुम्च्याइदियो । यसभन्दा अघि नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म तोकिएको थियो ।

नेपाल निर्माणको महान अभियान सफल पार्नमा गोरखाको ठूलो देन छ । त्यसै गरी यो जिल्लाले धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सुन्दरता र सम्भाव्यतालाई आफैमा सँगालेर राखेको छ । मनकामना देवीको पावन भूमि, गोरक्षनाथको देश, द्रव्यशाहले शासन गरेको भग्नावशेष युक्त दरवार, वज्र भैरव मन्दिर, रामशाहले न्याय दिने चौतारो, उनकी नातिनीले बनाएको रानीवन र गोरखकाली मन्दिर, गुफाहरु तथा अन्य मन्दिरहरु जस्तो सुलीकोट गुफा स्वारा, सिद्ध गुफा घ्याल्चोक, वक्रेश्वर गुफा वक्राङ, आदि गोरखाका वहुमुल्य सम्पत्तिहरु हुन । नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ ।

तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै  गोरखा आक्रमण गरी १५ दिन सम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन ।

द्रव्य शाह निकै महत्वाकांक्षी भएकाले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाइरहेका थिए ।

द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो ।

तत्कालीन अवस्थामा नेपाल बाईसी, चौबिसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो । भने अर्कातिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो । पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिइएको थियो ।

पिताको शासनकालमा उनले राज्य संचालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गरेका थिए । वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स-साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए ।

तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८१९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौ बनाए । त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याई पुऱ्याए ।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ ।

गोर्खालीहरु वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पुऱ्याएको ठूलो योगदान एवं नेपाल अंग्रेजबीच वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए ।

पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले “म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन रत्तिभर पनि डर मान्दिनँ तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ” भनेका छन्  भने  बेलायतकी महारानी एलिजवेथ द्वीतीयाले “गोरखा सैनिकले ईतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ” भनेकी छिन् ।

हिन्दु राष्ट्र नेपाल र गोरखा अलग अलग परिस्थितिहरू हुन् भनेर इतिहासकारहरूले मानेका छन् । कोही इतिहासकारहरू नेपाल शब्दको उत्पत्ति धेरै समय पछि मात्र भएको भन्छन् । कुनै समय हिमालयको यो भूभाग मा नेपाल नामको कुनै राष्ट्र थिएन । गुरू गोरखनाथ गोरक्षाको पक्षधर थिए यसकारण यसको अपभ्रंश भएर गोरखा बनेको हो भन्ने गरिन्छ ।

कसै कसैले भन्ने गरेका छन् कि ब्रम्हाण्डमा पहिलोपल्ट नेपाली भूभागमा नै गुरू गोरखनाथको अवतरण भएको हो, जुन भूभाग अहिले गोरखा भनेर चिनिएको छ । गोरखामा एउटा गुफा छ जहाँ गूरू गोरखनाथको चरण पादुका रहेको छ र उनको एउटा मूर्ति पनि रहेको छ । बैशाख पूर्णिमामा सो गुफामा रोट महोत्सवको आयोजन परम्परागत ढंगले गरिन्छ । यो महोत्सव सात आठ सय बर्ष भन्दा पुरानो रहेको मानिएको छ ।

यसै प्रकारले भारतको गोरखपुर पनि गुरू गोरखनाथकै नामबाट रहन गएको हो, जहाँ गुरू गोरखनाथको भव्य मठ र मन्दिर अहिले पनि यथावत छ ।

(महायोगी गोरखनाथ को थिए भन्नेबारे अर्को लेखमा स्पष्ट पारिनेछ)

निष्कर्षमा भन्नुपर्दा

संस्कृत भाषा विश्वका सबै भाषाहरूको जननी हो । नेपाली भाषा पनि संस्कृत भाषाकै उपज हो । संस्कृतमा गौ को अर्थ पृथ्वी, गाई वा सूर्यको किरण हो । संस्कृतमा रक्षाको अर्थ कसैको बचावट, रेखदेख वा हेरचाह गर्नु हो ।

यसकारण गोरक्षको अर्थ गाईको रक्षा वा पृथ्वीको रक्षा भन्ने बुझिन्छ । गोरक्षबाट नै गोरख शब्द व्युत्पन्न भएको हो । गोरख पुलिंग शब्द हो भने यसको स्त्रिलिङ्गी शब्द गोरखा हुन आउँछ ।

यही गोरखा शब्दलाई अंग्रेजहरूले उच्चारण गर्दा गुर्खा वा गुर्का भन्ने गरिन्छ । युद्धको मैदानमा पाएको बहादुरीका कारण गुर्काहरू विश्वप्रख्यात भएका छन् । जुन शब्दले नेपाली माटो बोल्छ ।

गोरखा शब्दमा नेपालीपन भेटिन्छ । भारतीय महायोगी गुरू गोरखनाथको नामबाट रहन गएको गोरखा नामाकरणबाट हामी नेपाली प्रजाति सदियौंदेखि हिन्दु धर्मावलम्बी थिए भन्ने ज्ञात हुन्छ ।

पहिले नेपालकै भूभाग रहेका दार्जिलिङ्ग अहिले भूगोलले अर्कै देशको भए पनि त्यसबेला त्यही छुटेका नेपालीहरू जो अहिले भारतीय भैसके, सबैले गोरखा शब्द सापट लिनु न्यायपूर्ण नै देखिन्छ ।

गोरखनाथ बाबा भारतकै भएको र वहाँकै नामबाट गोरखपुर पनि नामाकरण भएजस्तै गोरखा पनि नामाकरण भएसँगै भारतीय नेपालीभाषीहरूले गोरखा शब्द राखेर आफूलाई गोर्खाली मुटु भनेर गोर्खाल्याण्ड माग्नुले नेपालमा रहेको गोरखा र गोरखाको धरोहरमा केही आँच आउला जस्तो लाग्दैन ।

अंग्रेजीमा ल्याण्ड भनेको भूमि हो । यसकारण गोर्खाल्याण्डलाई गोरखाभूमि भनेर नामाकरण गरे पनि वा गोर्खास्थान नामाकरण गरे पनि वा अरू कुनै नाम दिए पनि गोरखाप्रति रहेको नेपालीजनको भावनामा केही फरक आउँदैन । गोरखा शब्द विश्वले मानेको लोकसम्मत शब्द हो ।

सही मानेमा नेपाली भाषीहरूले आफूलाई गोरखा भन्छन् भने यसमा पक्कै पनि हिन्दुबादी गन्ध झल्कन्छन् ।

महाकाली विजयको प्रतीक हो । गोरखकाली पनि यसै सन्दर्भमा गोरखनाथको अर्को विजयको प्रतिकका रूपमा लिइएको छ । यसैकारण गोरखा सैनिकहरूले युद्धभूमिमा आफ्नो नाङ्गो खुकुरी निकाल्दा जय जय काली महाकाली, आयो आयो गोर्खाली भनेर नारा लगाएर तातो रगत बनाएर हौसिन्छन् ।

यिनै यावत कारणहरूबाट यो प्रष्ट हुन्छ कि गोर्खाली शब्द सारा नेपालीभाषीहरूको शान हो । जय गोर्खाली जय नेपाल जय गोरखा ।

(हाल-रस अल खैमह, संयुक्त अरब ईमारात)

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0