अन्तर्राष्ट्रिय निगरानीको डर छैनः सू ची
अन्तर्राष्ट्रिय निगरानीको डर छैनः सू ची

अन्तर्राष्ट्रिय निगरानीको डर छैनः सू ची

चर्को आलोचना खेपिरहेकी म्यानमारकी नेतृ आङ सान सू चीले रोहिंज्या संकटलाई लिएर अन्तर्राष्ट्रिय समुदायको निगरानीबाट आफूलाई कुनै डर नभएको बताएकी छन्। ४ लाखभन्दा बढी रोहिंज्या मुस्लिमलाई म्यानमारबाट भागेर बांग्लादेश पुग्न बाध्य बनाएको हिंसाबारे पहिलो पटक उनले मंगलवार राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्।

सू चीले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अहिले हिंसा अन्त्य भएको दावी गरिन्। तर देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुको कारणबारे चाहिँ आफ्नो सरकारले कुरा गर्न चाहेको उनले बताइन्।

सेनाद्वारा रोहिंज्याहरुविरुद्ध व्यापकस्तरमा भएका दमनबारे चाहिँ सू चीले केही उल्लेख गरिनन्। यद्यपि निर्दोष मानिसहरुलाई प्रभावित हुन नदिन सेनालाई निर्देशन दिइएको उनले जनाइन्।

म्यानमारको सेनाले गरेको ‘अत्याचार र जातीय सफाया’बारे बोल्न अन्तर्राष्ट्रिय समुदायबाट उनीमाथि दवाव पर्दै आएको छ।

संयुक्त राष्ट्रसंघ र पश्चिमा सैनिक मुलुकले कारबाही रोक्न र रोहिंज्याहरुलाई घर फर्किन दिन म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन्। रोहिंज्यामाथिको ‘दमन’बारे मौन बसेको भन्दै सू चीको कडा आलोचना हुँदै आएको छ।

कतिपयले उनलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज समेत उठाउँदै आएका छन्। केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा जारी संकट अन्त्यका लागि सू चीसँग अब ‘अन्तिम मौका’ मात्रै बाँकी रहेको बताएका थिए।

हालै राष्ट्रसंघले अल्पसंख्यक रोहिंज्या मुस्लिमहरुविरुद्धको सैनिक अभियान पाठ्यपुस्तकमा उल्लेख गर्ने खालको ‘जातीय सफाया’ भएको बताएको थियो।

गत अगष्टमा रोहिंज्या विद्रोहीले गरेको आक्रमणपछि म्यानमारको सेनाले रखाइन राज्यमा कारबाही थालेको थियो।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0